विश्वविद्यालय अनुसन्धानमा केन्द्रित हुनुपर्छ : ओली

 प्रधानमन्त्री केपी ओलीले विश्वविद्यालयलाई अध्यापन मात्र नभई देशलाई निर्देश गर्न सक्ने अनुसन्धान गर्न निर्देशन दिएका छन् ।





त्रिभुवन विश्वविद्यालयको ५९ औं वार्षिकोत्सव समारोह तथा त्रिवि सभालाई शनिबार सम्बोधन गर्दै ओलीले समृद्धिको खाकाअनुसार जनशक्ति व्यवस्थापन गर्न नयाँ शिक्षा नीति ल्याउन लागेको बताए ।

‘अब विश्वविद्यालयले पढाउने मात्र होइन, नतिजा दिन सक्ने अनुसन्धान केन्द्रको समेत काम गर्न जरुरी छ, अनुसन्धानको नतिजाले देशलाई डोर्‍याउन सक्ने हुनुपर्छ,’ उनले भने । कुनै अध्ययन–अनुसन्धानबिनै विश्वविद्यालयले कलेजको सम्बन्धन दिएकाले देशमा बेरोजगारी बढेको दाबी गर्दै उनले पढेका मान्छे बेरोजगार हुन नपरोस् भनेर क्षेत्रगत रुपमा आवश्यक जनशक्तिको अध्ययन गरी त्यसैअनुसार शिक्षा नीति तर्जुमा गर्न लागेको जानकारी दिए । ‘विकास र समृद्धिको अभियानलाई सहयोग पुग्ने गरी क्षेत्रगत रूपमा जनशक्तिको माग र आपूर्ति हुने अवस्थाको अध्ययन भइरहेको छ । अहिले शिक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगले अध्ययन गर्दैछन् । यसको प्रतिवेदन आएपछि कुन क्षेत्रमा कति जनशक्ति उत्पादन गर्नुपर्ने रहेछ भन्ने स्पष्ट खाका आउँछ’ उनले भने ।
त्रिवि सभाले विभिन्न संकाय तथा अध्ययन संस्थाबाट स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि उपाधियोग्य विद्यार्थीको ५६ औं ग्रेसलिस्ट पास गरेको छ ।

जसमा शिक्षाशास्त्र, व्यवस्थापन, मानविकी तथा सामाजिकशास्त्र, कानुन संकाय र वनविज्ञान तथा प्रविधि, इन्जिनियरिङ, चिकित्साशास्त्र, कृषि र पशुविज्ञान र वनविज्ञान अध्ययन संस्थानका गरी ७३ हजार ९ सय १ जना छन् । ‘तीमध्ये प्राविधिकतर्फ उपाधि प्राप्त गर्ने विद्यार्थी गत वर्षको तुलनामा १ दशमलब १५ प्रतिशतले बढेर १४ दशमलव ९१ प्रतिशत पुगेको छ,’ रजिस्ट्रार डिल्लीराम उप्रेतीले जनाए ।

जग्गादातालाई सम्मान
प्रधानमन्त्री ओलीले विश्वविद्यालयलाई विभिन्न समयमा जग्गा दान गर्ने दाताहरूलाई सम्मानपत्र प्रदान गरेका थिए । झापाको मेची क्याम्पसलाई १ सय २० बिघा ३ कठ्ठा प्रदान गर्ने देवीप्रसाद उप्रेती, राजविराजको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसलाई ९८ बिघा १८ कठ्ठा जग्गा दान गर्ने विन्देश्वरप्रसाद यादव र पर्साको ठाकुराम क्याम्पसलाई १४ बिघा जग्गादाता महावीर प्रसाद र रघुवीर रामलाई मरणोपरान्त सम्मानपत्र उनीहरूको परिवारलाई प्रदान गरिएको थियो ।
त्रिविको ५९औं वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री केपी ओलीले विश्वविद्यालयलाई विभिन्न समयमा जग्गा दान गर्ने दाताहरूलाई सम्मानपत्र प्रदान गरे । 
त्यसैगरी सिरहाको सूर्यनारायण सत्यनारायण मरवैता यादव क्याम्पसलाई ५ बिघा १७ कठ्ठा जग्गादाताका छोरा विश्वेश्वर मरवैता यादवलाई सम्मानपत्र प्रदान गरिएको थियो । त्यसैगरी धनुषाको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसलाई ५७ बिघा १४ कठ्ठा जग्गादाता रामस्वरूप साह र रामसागर साहका नाति सुभासचन्द्र साहलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

पुस्तक सार्वजनिक
वार्षिक दिवस तथा पदक वितरण समारोहमा उपकुलपति तीर्थराज खनियाँले ‘त्रिभुवन विश्वविद्यालय दीक्षान्त भाषणको संग्रह’ (२०१७–२०७४) सार्वजनिक गरेका छन् । पुस्तक करिब ७ सय पृष्ठको छ । २०१६ सालमा स्थापना भएको त्रिभुवन विश्वविद्यालयले २०१७ सालमै पहिलो दीक्षान्त समारोह आयोजना गरेको थियो ।

पहिलो उपकुलपति सुवर्णशमशेर राणादेखि वर्तमान १८ औं उपकुलपति तीर्थराज खनियाँसम्मको कार्यकालमा भएका दीक्षान्त समारोहका भाषण समेटिएका छन् । त्रिविले अहिलेसम्म ४३ औं दीक्षान्त समारोह सम्पन्न गरेको छ । यस पुस्तकभित्र विदेशी र स्वदेशी प्रमुख अतिथिको भाषण, कुलपति, सहकुलपति र उपकुलपतिको दीक्षान्त भाषण समावेश छ ।
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस