गर्मी बढेसंगै धादिङ जिल्ला अस्पतालमा बिरामीको चाप बढ्न थाल्यो।

गर्मी बढेसँगै जिल्ला अस्पताल धादिङबेसीमा बिरामीको चाप बढ्न थालेको छ । झाडापखाला। टाइफाइड, भाइरल ज्वरो लगायतका समस्या लिएर बिरामीहरु अस्पतालमा धाउने गरेका छन् । अहिले जिल्ला अस्पताल धादिङको आकष्मिक कक्षमा दैनिक १ सय भन्दा धेरै जना उपचारका लागि आउने गरेका छन् । तीमध्ये अधिकांश बिरामी बालबालिका रहेका छन् । निजी क्लिनकमा पनि बिरामीको चाप उत्तिकै बढेको छ । अन्य समयमा ४० देखि ५० जनासम्म बिरामी आउने अस्पतालमा विगत दुई सातादेखि अस्पताल आउने बिरामीको संख्यामा तेब्बरले वृद्धि भएको छ । लगातारको वर्षाका कारण पानीका मुहानमा भल पसेर फोहोर समेत आउन थालेपछि आउ ँपर्ने र पेटका अरु समस्या देखापरेको हो । अत्याधिक गर्मीका कारण पनि भाइरल ज्वरोका बिरामी बढेको जिल्ला अस्पताल धादिङले जनाएको छ । यसैगरी, पानीकै कारण छालासम्बन्धी समस्यासमेत देखापरेको चिकित्सकले बताएका छन् । दूषित पानी र प्रदूषित हावाहुरीका कारण भाइरल ज्वरोको प्रकोप बढेको हुनसक्ने उपचारमा संलग्न अस्पतालका स्वास्थ्यकर्मीहरुको भनाई छ । यसबाट बच्न दूषित खानेपानी प्रयोग नगर्न र कुनै कारणवस संक्रमण देखिएमा तत्काल उपचारको विधि अपनाउन चिकित्सकहरुको सुझाव छ । औषधि पसल र गाउं गाउंमा रहेका स्वास्थ्य चौकीहरुमा पनि पछिल्लो समय गर्मीका कारण झाडापखाला, छालासम्बन्धी रोग, एलर्जी जस्ता रोगहरु लिएर आउने बिरामीको संख्या बढेको स्वास्थ्यकर्मीहरु बताउंछन् । बिरामी भएर टाढादेखि उपचार गर्न धादिङ अस्पतालमा आएपनि डाक्टर नभएकाले धेरै समय कुर्नुपरेको बिरामीहरुको भनाई छ ।
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस