धादिङमा ग्यास वितरणमा प्रशासनको मनोमानी

भारतले लगाएको नाकाबन्दीपछि बजारमा ग्यासको हाहाकार भइरहेको बेला आधा मात्र भरेर ल्याएको सिलिन्डर वितरणमा पनि प्रशासनले मनोमानी गरेपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन्।


साढे तीन महिनाअघिदेखि सीमावर्ती नाकाबाट ग्यासका बुलेट पर्याप्त मात्रामा आउन नसक्दा बजारमा ग्यासको हाहाकार भइरहेको छ। सदरमुकाम धादिङबेसीमा पनि नाकाबन्दीपछि थोरै मात्र ग्यास आउँदा ग्यास लिनका लागि उपभोक्ता रातभर लाम बस्न बाध्य छन्।

नाकाबन्दीपछि सदरमुकाम आसपासका ग्राहकलाई लक्षित गरेर सीमित मात्रामा बाबा, श्रीकृष्ण, गीता, र साईबाबा कम्पनीका आधा भरिएको ग्यास आए पनि प्रत्येक पटकमा स्थानीय प्रशासनले केही सिलिन्डर स्टक राखेर ग्यासको वितरण गर्न थालेपछि स्थानीय आक्रोशित भएका हुन्।

डिलरहरूले पनि रातको समयमा मात्र ग्यास ल्याउने भएकाले ग्यास लिन रातभर लाम बस्नुपर्ने र लाममा राखे पनि कतिपय उपभोक्ताले नपाएपछि प्रशासनले मनोमानी गरेको भन्दै आक्रोश पोखेका हुन्। नीलकण्ठ ३ पुछारबजारका सुजन दुवाडीले भने, ‘हामी ३ घन्टा ४ घन्टा लाइनमा बसेर पनि ग्यास नपाएर फर्किन्छौं तर प्रशासन भने आएको ग्यास पनि स्टक राखेर मात्रै वितरण गर्छ।’

बजारमा ग्यासको हाहाकार भएपछि उत्पन्न जटिल परिस्थितिलाई मध्यनजर गरेर सीमित मात्रामा आएको ग्यासलाई डिलरसँग समन्वय गरेर जिल्ला प्रहरी कार्यलय र सामुदायिक सेवा समितिले वितरणको व्यवस्था मिलाइरहेको भए पनि हरेक पटक ग्यास ल्याउँदा स्थानीय प्रशासनको नाममा स्टक राख्ने गरेकोले उपभोक्ता मारमा परेका छन्।

जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख प्रहरी नायव उपरीक्षक सविन प्रधानले भने, ‘सकेसम्म धेरैभन्दा धेरै उपभोक्तालाई सहज रूपमा ग्यास वितरण गर्ने व्यवस्था त मिलाएका छौं तर कम्पनीबाटै सीमित कोटामा ग्यास आएको हुन्छ। केही थान सिलिन्डर अपांगता भएका व्यक्तिहरूका लागि वितरण गरिएको छ भने केही थान सरकारी निकायको लागि भनेर स्टक राखिएको हुन्छ।’

गत बिहीबार साईबाबा कम्पनीको २ सय ३४ सिलिन्डर ग्यास सदरमुकाम आएको भए पनि स्थानीय प्रशासनले १ सय ७१ सिलिन्डर मात्रै वितरण गरेको थियो। गीता कम्पनीको २ सय २० सिलिन्डर ग्यास आएकोमा गीताको भने सबै सिलिन्डर वितरण गरिएको थियो।

नीलकण्ठ ३ कि रमिला श्रेष्ठले ग्यास नपाएको झोकमा आक्रोशित हुँदै भनिन्, ‘एक महिनाअघि श्रीकृष्ण कम्पनीको ३ सय २० सिलिन्डर ग्यास ल्याएको बेलामा एक सय सिलिन्डर ग्यास सरकारी कार्यालयको लागि भनेर राखियो, त्यसपछि बाबा कम्पनीको ५ सय सिलिन्डर ल्याउँदा पनि ८० सिलिन्डर ग्यास सरकारी कार्यलयको लागि भनेर राखियो। सरकारी कार्यलयहरूमा चाँही हप्तापिच्छे ग्यास चाँहिने, उपभोक्ताहरु चाँहि लाइनमा बसेर पनि रित्तै फर्कनुपर्ने यो कस्तो नियम हो?’

ग्यास वितरण गर्दा प्रहरीले पहिला आउनेलाई पहिलो प्राथमिकतामा राखेर वितरण गर्ने व्यवस्था मिलाएको छ। जतिपटक ग्यास आए पनि प्रशासन र सरकारी निकायको नाममा राखेर आफन्तलाई पठाउने गरेको भन्दै स्थानीयले प्रशासनले ग्यास वितरणमा मनोमानी गरिरहेको आरोप लगाएका छन्।

बजारमा ग्यासको अभाव हुँदा विशेष गरेर कोठा भाडामा लिएर बस्नेहरू बढी प्रभावित भएका छन् भने साना होटल धेरैजसो बन्द नै भइसकेका छन्।धादिङबेसी आसपासमा बाबा, श्रीकष्ण, साईबाबा, गीतालगायतका कम्पनीको ४ हजारभन्दा बढी उपभोक्ता छन्। अन्नपुर्ण पोष्टबाट

यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस