हेलिकप्टेरकै प्रतिक्षामा बित्छन् तिप्लिङबासीका दैनिकी

धादिंग, तिप्लिङ– भुकम्पले सबै घर ध्वस्त भएका छन् । धेरै त्रिपालमा नै बस्छन्, कोहीका पुराना जस्ताले ढाकिएका खोल्मे गोठमा बसेका छन् । बारीमा मकैका बोट छन, तर फल राम्रो छैन । खानेकुराका नाममा दाताले दिएका खाद्यान्न मात्र घरमा रहेका छन् ।



तिप्लिङ आलुको राम्रो खेती हुने क्षेत्र हो । यहाँको आलु रसुवा, नुवाकोट र काठमाडौँ सम्म निकासी हुने गर्दथ्यो । आलु खन्ने समय त भयो तर आलुका दाना लाग्ने समयमा आएको भुकम्पले आलु सबै मरेको तिप्लिङका मेनु घले बताउनु हुन्छ । आलु तिप्लिङबासीको महत्वपूर्ण खाद्यान्न बाली अन्तर्गत पर्दछ । राम्रो हुँदा पनि तीन महिना मात्र खान पुग्ने यहाँका बासिन्दा अधिकांश किनेर ल्याएको चामलले नै जीविको पार्जन गर्ने गरेको घलेको भनाइ छ ।

भुकम्पपछि गएका पहिरो र पछि पानी परेपछि गएका ठूलाठूला पहिराले तिप्लिङबासीको आवतजावत पूर्ण रुपमा रोकिएको छ । डुडे खोला, उपेखोला, बराङको भीर, सोमदाङवान, ताङ्ग्रो खोलामा गएको पहिरो जसले गर्दा कतैपट्टिबाट पनि निस्कने बाटो नभएको डिलबहादुर तामाङ बताउनु हुन्छ । तिप्लिङबासीले मोटर चल्ने सडक पुग्न नै झण्डै दुई दिनको समय लाग्दछ । चारैतिरका नाका पहिरोले बन्द गरेपछि खाद्यान्न बोकेर ल्याउनै नसकिएको स्थानीय सोनामा तामाङ बताउनु हुन्छ । यहाँ खाद्यान्न ढुवानीको अर्को माध्यम भनेको खच्चड हो तर बाटो पहिरोले पुरेपछि खच्चडबाट पनि खाद्यान्न धुवानी गर्न नसकिएको तामाङको भनाइ रहेको छ ।

भुकम्प पछि यहाँका बासिन्दा डुडेखोलाको खोच हुँदै हेलिकप्टेर आउँछ भन्ने आशमा हुन्छन् । विभिन्न दाताहरुले हेलिकप्टेरको प्रयोग गरी ल्याएको खाद्यान्नको भरमा तिप्लिङबासी बाँच्ने गरेका छन् । दाताहरुले खाद्यान्न ल्याइदिन्छन्, त्यही खाद्यान्न सबैलाई बराबरी बाँड्ने गरेको स्थानीय प्रत्युष तामाङ बताउनु हुन्छ । वर्षाको सुरुवात पछि उपयुक्त वातावरण नहुँदा हेलिकप्टेर पनि कम आउने भएकाले खाद्यान्नको अभाव हुन थालेको तामाङ बताउनु हुन्छ ।

विश्व सुुुमाचार नामक एक संस्थाले हेलिकप्टेर प्रयोग गरी पुर्याएको सामग्री लिन पुगेका ७६ वर्षिय कान्छीमाया तामाङ आफूहरु हेलिकप्टेर र दाताको भरमा जीविको पार्जन गरिरहेको बताउनु हुन्छ । तामाङको जस्तै अनुभव तिप्लिङका अधिकांशको रहेको छ । हेलिकप्टेर आएपछि सबै बासिन्दा ठूलो बारीमा भेला हुन्छन् । आएको सामग्री बाँडेर घर घर लैजाने दिनचर्यामा नै यहाँका बासिन्दा रमाइरहेका छन् ।

यहाँको बासिन्दाको मुख्य पेशा यही हो भन्ने छैन । जडिबुटी संकलन गर्नु, आलु खेती गर्नु र पर्यटकीय व्यवसायमा युवाहरु सहभागि छन् । भुकम्प पछि ती सबै काममा समस्या रहेको आइतबहादर तामाङ बताउनु हुन्छ । ट्रेकिङ एजेन्सी अफ नेपाल (टान) ले रुवि भ्याली ट्रेकिङ रुटको सञ्चालनका लागि पूर्वाधार तयार थालेपछि तिप्लिङका बासिन्दामा केही खुसी छाएको थियो । तर भुकम्पले बनेका भौतिक संरचना नष्ट हुँदा पर्यटकीय व्यवसायमा समेत धक्का पुगेको स्थानीय करमान तामाङको बुझाइ छ । टानले नयाँ रुटका रुपमा यस क्षेत्रलाई विकास गर्नका लागि भ्यु टावर देखि होटल जलको समेत व्यवस्थापन गरिसकेको थियो ।

श्रोत : Dhadinghotline
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस