भूकम्पको पीडा भन्दा बूढीगण्डकीको त्रास बढी

धादिङ र गोरखाका जनतालाई भूकम्पले दिएको पीडाभन्दा बूढीगण्डकी जलविद्युत् आयोजनाको अन्योलाताले ले बढी सताएको छ ।

बूढीगण्डकी जलविद्युत् आयोजनाको अनुमानित नक्सा
बूढीगण्डकी जलविद्युत् आयोजनाको अनुमानित नक्सा
एक हजार २०० मेगावाट क्षमताको सो आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजना बनाएता पनि कार्य अगाडी बढाउन नसक्दा अन्योलता छाएको हो ।

कम्पनीले असार सम्ममै  पूर्ण प्रतिवेदन दिने जनाएता पनि काम अगाडी नबढ्दा भुइँचालोपछि भत्किएका संरचना पुनःनिर्माण गर्ने कि नगर्ने भन्ने चिन्ताले सताएको छ ।

बूढीगण्डकी जलविद्युत् आयोजना विकास समितिले स्थानीयवासीलाई घर जग्गाको कारोबार बिक्री वितरण नगर्न आग्रह गरेको छ । जग्गाको कारोबार नहुँदा स्थानीयवासी मर्कामा परेका छन् । उनीहरु अझैपनि भैँचालोले दिएको विपत्तीसँगै आफूहरुको दीर्घकालीन बसोबासको व्यवस्था होओस् भन्ने प्रतिक्षामा रहेका छन् ।

धादिङ र गोरखाका २७ गाविसका जनता आयोजनाका कारण प्रत्यक्ष प्रभावित हुनेछन् । ती सबै गाविस यतिखेर भैँचालोको चपेटामा परेका छन् । स्थानीयवासीले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र ऊर्जा मन्त्री राधा ज्ञवालीलाई आफ्नो समस्याका बारेमा जानकारी गराइसकेता पनि  कोही कसैले पनि ठोस उत्तर आजसम्म दिएका छैनन् ।

घरजग्गाको कारोबार रोकिँदा समस्यामा परेका स्थानीयवासी भँचालोपछि झन् समस्यामा परेका छन् । उनीहरुलाई भैँचालोपछि थातथलाको चिन्ताले सताएको छ ।

बुङकोट गाविस– ३ का मधुकरराज वन्तले भने, ‘हामी आयोजनाका कारण विस्थापनमा पर्ने नै थियौँ, तर भैँचालोको पीडाले झन् थला परेका छौँ, घर बनाउ एकाध वर्षमा छाड्नु पर्छ नबनाउ भने कहाँ बस्ने र।’

आयोजनाले स्थानीयवासीलाई घर तथा आवास स्थल नबनाउ भनेको छ । तर उनीहरुको बनाउनै पर्ने बाध्यता छ । बूढीगण्डकी नदी किनारका गोरखा र धादिङका आरुघाट, सल्यानटार, विशालनगर, खहरे, किन्ताङफेदी, बेलुङभन्ज्याङ, लपाङफेदी, सातदोबाटो लगायतका ठूला साना बजार प्रभावित हुने अवस्था छ ।

आफू जन्मिएको थातथलो सधैँका निम्ति आयोजनाको जलाशयमा डुबाएर नयाँ ठाँउ खोज्नुपर्ने अवस्था स्थानीयवासीको रहेको छ । भैँचालोपछि सरकारले बेवास्ता गरेको उनीहरुले गुनासो गरेका छन् । आरुघाट उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोविन्द श्रेष्ठले आफूहरुलाई सरकारले कहाँ र कसरी राख्ने हो तत्काल निर्णय गर्न सरकारसँग आग्रह गरेका छन् ।

आयोजनाबाट गोरखाका घ्याल्चोक, फुजेल, नाम्जुङ, बुङकोट, अस्राङ, बोर्लाङ, धावा, तान्द्राङ, आरुपोखरी, आरुचनौटे, आरु अर्बाङ सबैभन्दा बढी प्रभावित हुनेछन् । भैँचालोले पनि त्यही क्षेत्रमा बढी प्रभाव पारेको छ । यस्तै धादिङको सलाङ, मैदी, खरी, चैनपुर, सल्यानटार, आगिन्चोक, त्रिपुरासुन्दरी, मारपाक, मूलपानी, बसेरी, बुडाथुम गाविसको महत्वपूर्ण धानखेत तथा टार पनि प्रभावित हुनेछन् ।

पृथ्वीनारायण साहको न्वागी खाने धानखेत, भीमसेन थापाको बगैँचा, प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर, मास र भटमासका लागि प्रसिद्ध मासटार, क्यामुनटार, जोगीटार, सल्यानटारको तल्लो भाग र गोरखा तथा धादिङको प्रमुख व्यापारिक केन्द्र आरुघाट बजार पनि आयोजनाका कारण प्रभावित हुनेछ । ती स्थानका अधिकाशं घर भैँचालोले भत्काएको छ ।

भैँचालोपछि कहाँ बस्ने भन्ने चिन्ताले सताएको स्थानियहरुले बताएका छन् । सरकारका मन्त्री तथा प्रतिपक्षी दलका नेतालाई समेत समस्या राखेको बताउँदै उनले समस्याको सुनुवाई कतैबाट हुन नसकेको गुनासो गरे ।

ऊर्जा मन्त्रालयले भूकम्प प्रभावित क्षेत्र तथा आयोजना प्रभावित क्षेत्रका लागि एकीकृत योजना अगाडि बढाउने तयारी गरेको छ । ऊर्जा मन्त्री ज्ञवालीले भनिन्, ‘हामी केही दिनभित्रै मन्त्रिपरिषद्मा आयोजना प्रभावित क्षेत्रका भैँचालो पीडित जनतालाई प्रभावकारी रुपमा बस्ती विकासको खाका प्रस्तुत गर्छौँ ।’ 

फ्रान्सेली परामर्शदाता ट्याक्टबेलले हाल सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) को कामलाई अन्तिम चरणमा पुराएको छ । आयोजनाका कारण करिब ४५ हजार वासिन्दाको थातथलो उठ्ने निश्चित छ । ती मध्ये करिब ४० हजारको घर भैँचालोले भत्काइदिएको छ ।

यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस