लेकाली वस्तीमा कोदो रोप्ने चटारो

झार्लाङ (धादिङ), बेसीका किसानहरुलाई खेतमा धान रोपाई गर्न चटारो परेको बेला सिंचाई व्यवस्था नभएका लेकाली बारीमा कोदो रोप्न चटारो परेको छ । धादिङ जिल्लाका झार्लाङलगायतका उत्तरी भेकका बासिन्दाहरुको मुख्यबाली कोदो हो । यसैले अहिले मानिसहरु बारी खन्न र कोदो रोप्न व्यस्त भएका दृश्य जताततै देखिन्छ ।


झार्लाङको सबैभन्दा मिलेको र खेतीयोग्य जग्गा वडा नं ४ को मेङगाउँ हो । यो गाउँमा आलु, मकै र कोदोका साथै हिउँदे बाली गहुँ पनि राम्रो फल्छ । ‘कम्तिमा १०/२० मुरी मकै, त्यत्तिकै कोदो र ५ मुरी गहुँ नहुने घरै छैन यहाँ,’ कोदो रोप्दै गरेका किसान शुभबहादुर तामाङले बताए ।

झार्लाङका किसानहरु कृषिमा मात्रै निर्भर छन् । पहिरोले लेकाली जंगल मासेपछि पशुपालनमा भने निकै कठिनाई छ । यसपालिको भूकम्पले वस्तीमास्तिरको जंगलमा धाँजा फाटेपछि भएका पशुवस्तु पनि चराउन जंगल कोही जाँदैन ।

लेकाली जग्गामा रोपेको कोदो तथा हिउँदे र वर्षे आलु छिमेकी गाविसहरु मात्रै हैन सदरमुकामलगायत छिमेकी जिल्ला गोरखा, नुवाकोट, रसुवा र पोखरासम्म पुग्ने गरेको छ । छिमेकी जिल्लामा विहावारी भएका महिलाहरु माइतीको नासोका रुपमा आलु लिएर जान मन पराउँछन् । दार्खाफेदीसम्म ग्रामीण सडक सञ्चालन भइ साना जीप र ट्रक व्यापारिक सामान लिएर पुग्छन् । फर्किँदा यी सवारी साधनले प्राय: आलु, कोदो लिएर फर्किन्छन् ।

आलुको मूल्य यहाँ केजीको हिसाबमा हैन पाथी र मुरीमा हुन्छ । खन्ने बेला पाथीको ८० देखि सय रुपैयाँसम्म पर्छ । एक पाथीमा सरदर ३ किजे अट्छ ।  आलु बेचेरै पनि झार्लाङ्गका किसानहरु ३० देखि ६० हजार वर्षेनी कमाई गर्छन् । सदरमुकामतिर यही आलु केजीको ८० रुपैयाँजतिमा बिक्छ ।

कोदो र मकैलाई झार्लाङका तामाङवस्तीमा उच्चकोटीको घरेलु मदिरा बनाउन प्रयोग गरिन्छ । कोदो र मकैको ढिँडो पनि उत्तिकै रुचाइन्छ ।

बर्षे आलुको गोडमेल गर्ने बेला भुकम्पको कारण यसपाली किसानहरुले आलुको स्याहारसमेत गर्न भ्याएनन् । समयमा आलु गोड्न नपाएर जंगली झारपातले ढपक्कै ढाक्यो । गहुँ काट्न नपाएपछि वर्षात्ले गहुँका पाकेका बाला र नल बोटमै कालो भए ।

गाविसका ९ सय ६७ घरमध्ये वडा नं १ का १२ घर र ४ का १७ घर दलित बाहेक पुरै गाविसमा तामाङ समुदायको मात्रै बसोबास छ । करिब ६ हजार जनसंख्या रहेको झार्लाङका ४० वर्ष माथिका सबै बासिन्दा निरक्षर छन् । पुरै गाविसमा डेढ सय नेपाली सुरक्षा निकायमा नोकरी पाएका छन् भने ५ जना निजामति सेवामा छन् । सरकारी सेवामा कुनै पनि महिलाले अवसर नपाएको यो गाविसमा चार दशकदेखि नुहाउन शरीरमा पानी नहाल्ने मान्छे थुप्रै फेला पर्छन् । यहाँका दलितले तामाङ भाषा नै बोल्छन् । नेपाली भाषा बुझ्दै नबुझ्ने पनि छन् ।

पहिरोले पानीको मुहान सुकाउँदै गएपछि यो गाविसमा पानीको सधैंजसो हाहाकार पर्ने गर्छ ।

Source : Ekantipur
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस