बुढीगण्डकी प्रभावितले प्रधानमन्त्रीसँग भने : भूकम्पले घर भत्केकै बेला पुनर्वास गराउ

काठमाडौं, बुढीगण्डकी जलासययुक्त आयोजना प्रभावित क्षेत्रका वासिन्दाले भूकम्पले घर भत्काएको बेला अहिले नै आफुहरुलाई पुनर्वास गराउन प्रधानमन्त्री सुशील कोइरालासँग माग गरेका छन्।


शनिबार बिहान बालुवाटारमा भेट्न पुगेका सरोकार समिति र त्यस क्षेत्रका जनप्रतिनिधिले भूकम्पले भत्काएको घर पुनर्निर्माण अघि नै प्रभावित क्षेत्रका वासिन्दालाई पुनर्वास गराउन माग गरेका हुन्।

'वैशाख १२ गतेको भूकम्पले घर भत्काएपछि हामी सबै पालभित्र छौं, नयाँ घर बनाउनुअघि नै हामीलाई उचित मुआब्जा दिएर सार्नुपर्‍यो भन्न आएका हौं' बुढीगण्डकी जलविद्युत आयोजना सरोकार समितिका अध्यक्ष दिनेशकुमार ढकालले भने 'अहिले बजेट ल्याउने बेला भएकाले प्रधानमन्त्री, अर्थमन्त्री, उर्जामन्त्री र बुढीगण्डकी विकास समितिलाई ध्यानाकर्षण गराएका छौं।'

प्रधानमन्त्रीलाई भेट्न सरोकार समितिका अध्यक्ष ढकालसँगै प्रभावित क्षेत्र गोरखा आरुघाटका वासिन्दा कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, धादिङका जनप्रतिनिधिहरु राजेन्द्र पाण्डे, गुरु बुर्लाकोटी, धनबहादुर घले, परशुराम तामाङ,  दिलमान पाख्रिन, गोरखाका एमाले सचिव कृष्ण नेपाली र आरुघाट क्षेत्रका केही वासिन्दा पुगेका थिए।

नयाँ आर्थिक वर्षको वजेट ल्याउने समय पारेर उनीहरु डेलिगेसनका लागि काठमाडौं आएका हुन्। उनीहरुले शनिबार प्रधानमन्त्री सुशील कोइराला, अर्थमन्त्री डा. रामशरण महतसँग भेट गरेका छन्। उर्जामन्त्रीले आइतबार बिहान ९ बजे भेट्नका लागि समय दिएकी छन्।

बुढीगण्डकी जलविद्युत आयोजना विकास सिमितिले यस वर्षदेखि नै प्रभावित क्षेत्रका वासिन्दालाई मुआब्जा बितरण गर्ने कार्ययोजना उर्जा मन्त्रालयमा पेश गरिसकेको बताएको छ। 'समितिले हामीसँग मुआब्जा वितरणको कार्ययोजना  मन्त्रालयमा पठाइसकेको बताएको छ' एमाले जिल्ला सचिव तथा प्रभावित क्षेत्र आरुघाटका वासिन्दा कृष्ण नेपालीले भने ' त्यसैले संबन्धित मन्त्री र प्रधानमन्त्रीलाई पनि भेटेर आफुहरुको सरोकार बताउन आएका हौं।'

सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको बुढीगण्डकी जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को सकिएको छ। त्यसैले स्थानीय वासिन्दाले आयोजनाको काम सुरु गर्न ढिलो नगर्न दबाव दिइरहेका छन्। भूकम्प लगत्तै प्रभावित क्षेत्र गोरखाको आरुघाट पुगेकी उर्जामन्त्री राधा ज्ञवालीले स्थानीय वासिन्दालाई अब घर बनाउने कि नबनाउने भनेर सोधेका थए। उनले त्यतिबेला छिट्टै पुनर्वास गराउने भन्दै स्थायी संरचना नबनाउन आग्रह गरेकी थिइन्।

बुढीगण्डकी आयोजनाको चर्चा सुरु भएसँगै त्यस क्षेत्रमा ब्यापारिक चहलपहल घटेको छ,  घर घडेरी बिक्री रोकिएको छ। 'अहिले त झन् भूकम्पले घरहरु ध्वस्त भएको छ' प्रभावित क्षेत्रका वासिन्दा समेत रहेका एमाले जिल्ला सचिव नेपाली भन्छन् 'आयोजना समयमा नै सुरु नहुने हो भने घरजग्गाको अझै अवमूल्यन हुन्छ भनेर बेलैमा सचेत गराउन आएका हौं।'

 अहिले भूकम्पले सबै त्रिपालमुनि छन्। नयाँ घर बनाउने हो भने पनि पछि के हुने हो भन्ने अन्यौल छ। 'यदि सरकारले आयोजना निर्माण गर्न सक्दैन भने बेलैमा भन्नुपर्‍यो हामी आफ्नो तयारी गर्छौं पनि भन्यौं' प्रधानमन्त्री र अर्थमन्त्रीसँगको भेटमा भएका कुराकानीबारे नेपालीले भने।

सरोकार समिति र सभासदहरुसँग प्रधानमन्त्री सुशील कोइरालाले आयोजना बन्नेमा ढुक्क हुन आग्रह गरे। उनले तत्कालै अर्थमन्त्री रामशरण महतलाई टेलिफोन गरेर आयोजनाका लागि बजेट विनियोजन गर्न आग्रह पनि गरे।  प्रधानमन्त्रीले उर्जामन्त्रीले यस विषयमा धेरै चासो नदिएको भन्दै एमाले सभासद राजेन्द्र पाण्डेसँग आफ्नो पार्टीमा कुरा राख्न पनि आग्रह गरेका सरोकार समितिका अध्यक्ष ढकालले बताए।

अर्थमन्त्री रामशरण महतले उर्जा मन्त्रालय र विकास सिमितिले उचित कार्ययोजना पेश गरे वजेट बिनियोजन गर्न समस्या नभएको बताए। 'आयोजनालाई आवश्यक बजेट दिन तयार छु तर विकास समितिले काम गर्ने क्षमता देखाउनुपर्छ'अर्थमन्त्रीको भनाई उधृत गर्दै एमाले जिल्ला सचिव कृष्ण नेपालीले भने।

हेर्नुस् बुढीगण्डकी प्रभावितले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्र:

Source: Pahilopost
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस