उत्तरी धादिङको एक विद्यालयमा ५ कोठे अस्थायी टहरा निर्माण

धादिङ,  भूकम्पले भत्किएको विद्यालयमा नेकपा एमालेका स्वंयसेवी टोलीहरुले अस्थायी टहरा निर्माण गरिदिएको छ ।


धादिङको सत्यदेवी गाँउ विकास समिति वडा नं ९ बच्छाडाँडामा रहेको बच्छलादेवी माविमा अस्थायी टहरा निर्माण गरिएको हो । नेकपा एमाले स्वंयसेवक परिचालन केन्द्रिय कार्यक्रम अन्र्तगत ३० जनाको स्वंयसेवी टोलीले विद्यालय निर्माण गरेको हो । स्थानीय युवाहरु समेत जुटेर दुई दिनमा ५ कोठे अस्थायी टहरा निर्माण गरिएको महेन्द्र रत्न क्याम्पसका स्ववियु सचापति अनिल रिजालले जानकारी दिनुभयो ।

टोलीले अस्थायी टहरा निर्माण गर्नका लागि १९ बन्डल जस्ता समेत विद्यालयको भवन निर्माणका लागि सहयोग गरेको छ । दुई दिनमा बनाइसकेको अस्थायी टहरा विद्यालयका प्रधानाध्यपक बम बहादुर तामाङलाई हस्तान्तरण गरिएको छ ।
टोलीमा नेकपा एमाले जिल्ला कमिटि सदस्य भगवान थापा, अनेमसंघका केन्द्रिय सदस्य किरण सापकोटा, धादिङ काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष जीवन थापा लगायतको पनि सहभागीता रहेको थियो ।

विद्यालयमा रहेको २५ कोठे भवन बैशाख १२ गते गएको विनाशकारी भूकम्पले ध्वस्त भएपछि विद्यालय संचालनमा कठिनाई भएको विद्यालयका प्रधानाध्यपकले जानकारी दिनुभएको छ । जेठ १७ गतेबाट विद्यालय संचालनमा आएपनि त्यस विद्यालयमा पाठ्यक्रमको पढाई संचालन हुन सकेको छैन । विभिन्न मनोरञ्जनात्मक तथा भूकम्प सम्बन्धी विभिन्न उपयोगी विषयमा विद्यार्थीहरुलाई जानकारी गराइ रहेको विद्यालयले जनाएको छ ।

Source: Pabilnews
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस