के गरे धादिङ प्रमुख जिल्ला अधिकारी घिमिरेले ?

धादिङ सदाझैं हिजो पनि म ५ः३० बजे उठेँ । भूकम्प आएदेखि व्यक्तिगत जीवन पूरै प्रभावित छ । उद्दार, राहत र पुनस्र्थापनाभन्दा अरु कुरामा मैले सोच्न भ्याएको छैन । जनताको पीडामा मलम लगाउन १८ घन्टासम्म जनताको सेवामा आफूलाई समर्पित गराउँदै आएको छु । यहाँको अवस्था सम्हाल्न म आफ्नो तर्फबाट निरन्तर लागिरहेको छु । हिजो पनि मैले बिहान ६ बजेदेखि नै आफ्नो दिनचर्या सुरु गरेँ ।

केहीबेर रेडियोमा समाचार सुनेँ । त्यसपछि करिब आधा घन्टा दिनभरि गर्नुपर्ने कामको तयारीमा लागेँ । सहायक सिडियो, विभिन्न कार्यालय प्रमुखहरु, कर्मचारीहरु, संघसंस्थाहरुका प्रतिनिधिहरुलाई फलोअप र रिमाइन्ड कल गरेँ । अस्थायी बसोबासका लागि विभिन्न संघसंस्थाले जस्तापाता दिने मनसाय देखाएका थिए । तर, त्यसले अन्तिम रुप पाउन सकेको थिएन । हिजो यसलाई पनि संस्थाका साथीहरुसँग बसेर टुंग्याएँ । छिटै मनसुन सुरु हुँदै छ । यस्तोमा जिल्लाका उत्तरी क्षेत्रका कतिपय स्थानमा बाटोका सुविधा छैनन् ।
भएकामा पनि बाटोहरु बन्द हुने र जान नसकिने अवस्था छ । ती क्षेत्रमा अस्थायी आवास र खाद्यान्न भण्डार गराउने कामलाई हामीले तीव्रता दिइरहेका छौं । वायर हाउस बनाउने योजना पनि बनाएका छौं । त्यसतर्फ के–कति प्रगति भयो भनेर बुझ्ने काम पनि मैले हिजै गरेको छु ।



 हामीले गरेको कामको प्रगतिमापनको प्रमुख आधार त्यही अस्थायी आवास निर्माण भएकाले हामी यतातिर बढी नै केन्द्रित भएर लागेका छौं । हिजोआज भेटघाट र छलफलहरु निकै बढेका छन् । कुनै पूर्वनिर्धारित हुन्छन् भने कतिपय भइपरी आउने पनि हुन्छन् । हिजो पनि यस्तै भेटघाटमा झन्डै १ घन्टा बिताएँ । यति गर्दा नगर्दै ११ बजिसकेको थियो । मैले त्यसलगत्तै खाना खाएँ । त्यसपछि म कार्यालय गएँ । कार्यालय अलिअलि चर्किए पनि बस्नै नहुने अवस्था छैन ।

कार्यालयमै बसेर काम गर्दै आइरहेको छु । अफिसमा नियमित प्रकृतिका काम हुन्छन्, जुन प्रजिअले नै गर्नुपर्छ । हिजो पनि यस्तै कामहरु गरेँ । कार्यालयमा दैनिक औपचारिक भेटघाट भइराख्छन् । हिजो पनि मैले यस्ता दैनिक भेटघाटमा केही समय बिताएँ । विभिन्न संघ–संस्थाका प्रतिनिधि, स्थानीय जनता राहतको सवालमा गुनासा लिएर आउने गर्नुहुन्छ । हिजो पनि यस्तै गुनासा आए । सकेसम्म समस्या सुल्झाएर पठाउने प्रयास गरेँ । त्यसपछि सुरक्षा टिमसँग बसेर सुरक्षा अवस्थाबारे जानकारी लिने काम भयो । उहाँहरुसँग भावी दिनमा आउने सक्ने कठिनाइहरुसँग जुधेर कसरी अघि बढ्ने भन्ने विषयमा पनि छलफल भयो । अस्थायी बसोबासका लागि १५ हजार राहत रकम उपलब्ध गराउनुपर्ने काम अहिलेको हाम्रो दायित्व हुन आएको छ । अहिले हामी द्रूत गतिमा यसलाई अघि बढाउन लागिपरेका छौं । प्राविधिक टोली गठन गरेर पनि हामीले यसलाई प्रभावकारी बनाउने काम गरेका छौं । हिजो केही क्षेत्रको अवलोकन गरेर आवश्यक निर्देशन दिने काम गरेको छु ।

राजमार्गले छोएका पाँच गाविसमा सरकारले उपलब्ध गराएको १५ हजार रकम वितरणका लागि टोली परिचालन गरेका छौं । अन्य गाविसमा पनि हामी छिटै यो रकम उपलब्ध गराउने छौं । यसपछि मैले एउटा गुनासो सुनेँ, गाविस–सचिवले बेइमानी गरेको विषयमा । यसरी बेइमानी गरेर आफ्नो जिम्मेवारी पूरा नगर्ने गाविस–सचिव री गाविसका रहेछन् । हिजै यसबारे बुझेर आवश्यक कारबाहीको प्रक्रिया पनि अघि बढाएको छु । त्यतिन्जेस एक बजिसकेको थियो, अफिस फर्कें । टेबुलमा धेरै काम थुप्रिसकेको थियो । मलाई टेबुल क्लिअर गर्न नै झन्डैझन्डै आधा घन्टा लाग्यो । फेरि अस्थायी बासस्थान निर्माणका लागि विदेशी संस्थाका साथीहरु आउनुभएको थियो । उहाँहरुसँग छलफल गरेँ ।

 धादिङका पाँचवटा गाविस दीर्घकालीन रुपमै स्थायी पुनस्र्थापना गराउनुपर्ने अवस्थामा छन् । हामीले यो निर्णय जिल्ला दैवी प्रकोप उद्धार समितिमा गरिसकेका पनि छौं । ती पाँच गाविसमध्ये पनि कुन–कुन बस्ती जोखिममा छन् र ती बस्तीलाई अस्थायी रुपमा बसोबास गराउनका लागि आवश्यक स्थान पहिचान गर्न कार्यदल बनेको छ । दैवी प्रकोप उद्धार समितिले प्रमुख जिल्ला इन्जिनियर भरत अर्यालको संयोजकत्वमा एउटा कार्यादल बनाएको थियो । संयोजकले हिजो प्रतिवेदन पेस गर्नुभयो । हिजो उहाँको प्रतिवदेनमा प्रारम्भिक छलफल गर्न भ्याइयो । उहाँले प्रस्ताव गरेका ठाउँहरुका बारेमा बुझियो ।

यति गर्दानगर्दै तीन बजेको हुँदो हो । त्यसपछि जिल्ला दैवी प्रकोप उद्दार समितिको बैठक बोलाउने कुरा भयो । हामी त्यसका एजेन्डा तय गर्न लाग्यौं । त्यसपछि कार्यान्वयन प्रक्रियामा रहेका जिल्ला दैवी प्रकोप उद्धार समितिका निर्णयहरुको अवस्था के छ भनेर बुझ्ने काम गरेँ । त्यसपछि स्टाफ मिटिङ बोलाएको थिएँ । त्यहाँ राहत प्रकृतिका सम्बन्धमा र जिल्ला प्रशासनको भूमिकाको सम्बन्धमा छलफल गर्ने एजेन्डा थियो । हामीले त्यसबारे नै छलफल गर्यौं । कहाँ सजिलो, कहाँ अप्ठेरो क छ, कसरी सजिलो ढंगले काम गर्न सकिन्छ ? 

यसबारे नै झन्डै आधा घन्टा जति छलफल चल्यो । केही संघ–संस्थाले जानकारी नै नगराई राहत वितरण र अस्थायी बसोबासका काममा लागेको भनेर सिकायत आएको थियो, जिल्लाका दक्षिणी भेगका एक–दुई गाविसबाट । मैले तत्कालै प्रहरीलाई त्यसबारे बुझ्न लगाएँ । केही संघ–संस्था त्यसरी आफूखुसी राहत र उद्धारको काममा लागेको कुरा सत्य रहेछ । तत्कालै उनीहरुलाई नियमअनुसार आफ्नो काममा लाग्न सुझाएँ । जिल्लामा ध्वस्त भएका विद्यालयलाई सोलार प्यानल वितरण गर्छु भनेर एउटा संस्था आएको थियो । जिल्ला शिक्षा कार्यालयसँग बसेर सौर्य ऊर्जाको सोलार प्यानल वितरणको प्रबन्ध पनि मिलाइदिएँ । यहीबीच वैकल्पिक सौर्य ऊर्जाबाट केही प्रतिनिधि आइसक्नुभएको थियो– जिल्लामा करिब १५ सय सोलार टुकी वितरण गर्ने भनेर ।

 थप छलफल गरेर पूर्वनिर्णय अनुसार उहाँहरुलाई सम्बन्धित गाविसतिर पठाउने काम गरेँ । यति गरिसक्दा साँझको साढे पाँच बजिसकेको थियो । हरेक दिन साँझ साढे पाँच बजेपछि जिल्लामा भएको राहत वितरण प्रगतिबारे छलफल हुन्छ । हिजो पनि हामीले बैठक बसेर छलफल गर्यौं । यसलगत्तै हामीले दिनभरिका कामको समीक्षा गर्यौं, सात बजेसम्म । हिजो साथीहरुसँग खाने कार्यक्रम थियो । साथीहरुसँगै खाना खाएँ । त्यसपछि फोन उठाउने, प्राप्त तथ्यांक समीक्षा गर्ने गरेँ । इमेल गर्न भनेको थिएँ, १२ गाविसको तथ्यांक । इमेलबाट प्राप्त तथ्यांक आधाउधी हेर्दानहेर्दै रातको ११ बज्छ । त्यसपछि सुतेँ । ००० प्रारम्भिक अनुमानभन्दा निकै बढी क्षति धादिङमा भएको छ । ९० प्रतिशतभन्दा बढी घर ध्वस्त भएका छन् । ६५ देखि ७० हजार घर ध्वस्त भएको विवरण हामीले पाएका छौं ।

 धादिङको अवस्था भयावह छ । आफन्तसँगै आफ्नो थातथलो गुमाएका अथाहमा छन् । धादिङको क्षति देख्दा मनै आत्तिन्छ । फेरि पनि सम्हालिएर जनताको सेवामा लागिरहेका छौं । सबैले हातमा हात र काँधमा काँध मिलाएर धादिङलाई पहिलेकै अवस्थामा फर्काउन सक्छौँ भन्नेमा म विश्वस्त छु । (प्रजिअ घिमिरेको २१ जेठ ०७२ को दैनिकी । रातोपाटीको ‘हिजोमात्रै’ स्तम्भका लागि उनले २२ जेठ बिहान टेलिफोनमार्फत बताएका हुन् ।) 
Source: Ratopati
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस