उपत्यकामा ठूला संरचना बनाउन कुन ठाउँको भू–बनोट कस्तो ?


काठमाडौ, काठमाडौँ उपत्यकाको अधिकांश सहरी भाग ठूला संरचना बनाउन अयोग्य रहेको सरकारकै एक अनुसन्धानले देखाएको छ । १७ वर्षअघि गरिएको उक्त अध्ययनलाई सरकारले बेवास्ता गरी जथाभावी सहरीकरण, अव्यवस्थित बसोवास र संरचना निर्माणको अनुमति दिएको समेत पाइएको छ ।
खानी तथा भूगर्भ विभागले जर्मनीको फेडेरल इन्स्टिच्युट फर जियोसाइन्सेस एन्ड नेचरल रिसोर्सेस, हानओभरको सहयोगमा गरेको अनुसन्धानका आधारमा इन्जिनियरिङ तथा इन्भारोमेन्टल जियोलोजिकल म्याप अफ द काठमाडौं भ्याली, १९९८ प्रकाशित गरेको थियो । नेपाली र विदेशी गरी १५ जना विज्ञहरू अनुसन्धानमा संलग्न थिए ।

अध्ययनका क्रममा विभिन्न क्षेत्रको माटो परीक्षण, खनिज, जलस्रोत, नदीनालाको वहाव क्षेत्र, भूउपयोगको इतिहासलगायत आधारलाई समेत केलाइएको थियो । कुन क्षेत्रमा कस्तो माटो, खनिज र जलस्रोतको अवस्था छ, त्यसको चरित्र र संरचना कस्तो हुन्छ, अनि त्यस ठाउँमा के कस्ता भवन संरचना बनाउन मिल्छ वा मिल्दैन भनेर स्पष्ट किटान गरिएको छ ।

साथै, समयक्रममा यस्ता अनुसन्धानका नतिजा फरक पनि पर्न सक्ने भन्दै अद्यावधिक गर्नुपर्ने सुझाव नक्सामै उल्लेख गरिएको छ । यो नक्सा क्षेत्रीय योजना तर्जुमाका लागि सहयोगी हुने भए पनि कुनै घर विशेषमा भने अलग्गै अनुसन्धान गर्नुपर्ने भन्दै नक्सामै स्पष्ट पारिएको छ । ठाउँका नामहरु नक्सा र विज्ञहरुसँगको छलफलपछि आउटलाइन डेस्कले थपेको छ ।

कालीमाटी फर्मेसन
यसमा हेर्दैमा कालो माटो हुन्छ । अलिअलि सिल्ट मिसिएको छ । यसमा काठ, झार, पात, पतिंगर, जीवजन्तुका अंगजस्ता जैविक तत्वहरु बढी छन् । मसिनो बालुवाका पत्रहरु पनि छन् । भार वहन क्षमता न्यूनदेखि मध्यम खालको छ । कालो माटोको पत्र बाक्लो हुादा वहन क्षमता न्यून हुन्छ भने खस्रो बालुवालगायत ढुंगाको पत्र भएको स्थानमा मध्यम खालको वहन क्षमता हुन्छ । यसमा तरलीकृत हुने जोखिम त कम हुन्छ तर जहा कालोमाटोको मोटो पत्र हुन्छ, त्यो ठाउामा घर धसिने सम्भावना बढी हुन्छ ।

थानकोटदेखि, बलम्बु, सतुंगल, कीर्तिपुरको पांगा (बाघभैरव मन्दिर रहेको थुम्को डाँडो र वरिपरिको क्षेत्रबाहेक) कलंकी, कालीमाटी, बाफल, ताहाचल, डल्लु, शोभाभगवती, चमती, बालाजु, माछापोखरी, गोंगबु, सोह्रखुट्टे, सोल्टीमोड र चोभारको सिमेन्ट कारखाना यसमा पर्छन् । यसैगरी विष्णुदेवी, बल्खु, सानेपा, धोवीघाट, पाटन, सातदोबाटो, ठैब, हरिसिद्धि, बाडेगाउँ, सानागाउँ, लुभु, इकुडोल, चित्रपुर लगायतहनुमन्ते खोलाको दायाँबायाँ, बागमतीनदीको दुवैतर्फको फराकिलो भूभाग, विष्णुमती नदीको दुवैतर्फ, खासगरी यसको पश्चिमपट्टिको ठूलो भाग, मनोहरा नदीको दायाँबायाँको फराकिलो भाग पनि कालीमाटी फर्मेसनमा पर्छन् ।
जडीबुटी, भक्तपुरको मुख्य सहर, ठिमी, बोडे गाउँ, सूर्यविनायक, जगाती, हनुमन्ते खोला, खस्याङ खुसुङ खोलाचाखु खोला, सिपाडोल खोला र तब्याखुसी खोला वरपरका क्षेत्र, पलाँसे, नलिन्चोकलगायत अरनिको राजमार्गका दुवैतर्फको फराकिला सम्म क्षेत्र र खोँचहरु यसमा पर्छन् । भार वहन क्षमताका दृष्टिले यी सबैभन्दा जोखिमका क्षेत्र हुन् ।

टोखा फर्मेसन
यसमा कालो खैरो माटो, बालुवा, ग्राभेल लगायत मिसिएको छ । कुनै ठाउँमा भार वहन क्षमता बढी र कुनै ठाउँमा कम छ । जुन ठाउँमा ग्राभेल र बालुवाको मात्रा बढी छ, त्यहाँ भार वहन क्षमता बढी हुन्छ । माटोको मात्रा बढी हुादा भार वहन क्षमता कम हुन्छ । बालुवा र ग्राभेलका कारण यसमा तरलीकरणको सम्भावना मध्यम खालको हुन्छ । मसिनो बालुवा ९फाइन स्यान्ड०को मात्रा बढी हुादा भने तरलीकृत हुने सम्भावना बढी हुन्छ । धर्मस्थली, बुढानीलकण्ठ, टोखा, मनमैजुका केही ठाउँमा यस्तो भौगर्भिक संरचना छ ।

गोकर्ण फर्मेसन
यसमा सिल्टी बालुवा र माटोका पत्रहरु छन् । सिल्टी भन्नाले फाइन स्यान्ड भन्दा पनि मसिनो अर्थात् माटो र फाइन स्यान्डको बीचको अवस्थालाई जनाउाछ । यसमा भार वहन क्षमता मध्यमदेखि उच्चसम्म हुन्छ । तरलीकृत हुने सम्भावना न्यूनदेखि मध्यम तहको हुन्छ । टोखा फर्मेसनभन्दा यो फर्मेसन बढी सुरक्षित छ ।
जमल, घन्टाघरदेखि बुढानीलकण्ठसम्मको मूल सडकको दायाँबायाँ, सिंहदरबार, डिल्लीबजार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मूलपानी, बौद्ध, गोकर्ण, ब्रम्हखेल, साँखु, भक्तपुरको पिखेल र खरिपाटीको दक्षिणतिरको भाग, तैकापुल लगायत क्षेत्रमा यस खालको माटो रहेको छ ।


चापागाउँ फर्मेसन
यो सिल्टी स्यान्डी ग्राभेल भएको फर्मेसन हो, जसमा कुनै कुनै ठाउामा अलि ठूला ढुंगा पनि छन् । यसमा भार वहन क्षमता उच्च रहेको छ भने तरलीकृत हुने सम्भावना न्यून हुन्छ । त्यसैले यो भूकम्पीय दृष्टिले टोखा र गोकर्ण फर्मेसनभन्दा बढी सुरक्षित छ । तर, यस्तो क्षेत्र उपत्यकाकानिकै कम छ । थेचो, चापागाउँ, प्याङ गाउँ, सुनाकोठी, खोकना सहितकाठाउँको यस खालको माटो रहेको छ ।

कोबगाँउ फर्मेसन
यसमा मसिनो बालुवा धेरै छ । कहीकहीँ बलौटे माटो र ग्राभेल देखिन्छ । यसमा मध्यम खालको भार वहन क्षमता छ । तरलीकृत हुने अवस्था न्यूनदेखि मध्यम तहको छ । मसिनो बालुवाको पत्र बाक्लो भएको स्थानमा जमिन तरलीकृत हुने सम्भावना उच्च हुन्छ ।ललितपुरको कोपगाउँ र त्यसवरिपरिको सीमित क्षेत्रमामात्रयस्तो भौगर्भिक संरचना छ ।

लुकुन्डोल फर्मेसन
यसमा केही बालुवा र केही माटो मिसिएको सिल्ट छ । ग्राभेल र माटो मिसिएको बालुवाका पत्रहरु पनि छन् । यसमा भार वहन क्षमता मध्यमदेखि उच्च छ भने तरलीकृत हुने अवस्था न्यून छ । भवन निर्माणको दृष्टिले चापागाउ फर्मेसनभन्दा कम र गोकर्ण फर्मेसनभन्दा बढी सुरक्षित छ । सीतापाइला, भीमढुंगा, खोकना र बुङमती सहितचोभारभन्दादक्षिणको बागमतीनदीको पूर्वी फाँट, नख्खु खोलाको दायाँबायाँयस्तो माटो र भौगर्भिक संरचना रहेका क्षेत्र हुन् ।

बेसल बोर्डर
माथिका सबै फर्मेसनभन्दा तलको फर्मेसन हो यो । यसमा ठूल्ठूला चट्टानका टुक्राहरु एकापसमा जोडिएका र नजोडिएका दुवै खालका छन् । यसको भारवहन क्षमता उच्च र तरलीकृत हुने सम्भावना न्यून छ । तर, काठमाडौं उपत्यकाभित्र यो फर्मेसन सहज उपलब्ध र पहुाचयोग्य छैन । मात्रा पनि थोरै छ । काठमाडौँ, ललितपुर र मकवानपुरको सीमा क्षेत्रको थोरै भूभागमा यो विशेषता पाइन्छ । उपत्यकाका मुख्य सहर र नगरोन्मुख क्षेत्रमा यस्तो भौगर्भिक विशेषता छैन ।

Source: Onsnews
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस