सम्हालिदै सल्यानटार : स्थानिय संरचना बनाउनमा व्यस्त





धादिङ - दायाँ बाँया ठुल्ठुला झ्याल, ताल्चा लगाउन मिल्ने दुई ओटा ढोका, चारैतिर जस्तापाताले घेरिएको, छानो पनि जस्ताकै, झट्ट हेर्दा घरैजस्तै देखिने संरचना । सल्यानटारबासी यतिखेर यस्तै संरचना बनाउन व्यस्त छन् । बैशाख १२ गतेको विनाशकारी भुकम्पले सल्यानटार सुमित्रा पाठकको घर अरुको जस्तै गरी जगैदेखि भत्कायो । सल्यानटारमा रहेका करिब १८ सय घरमध्ये अधिकांश घर भत्कायो । २२ जनाको मृत्यु भयो । शोकलाई शक्तिमा बदलेर सल्यानटारबासी हिजोआज भत्केका घरको डाँडाभाटा झिकेर नयाँ टहरो बनाउन व्यस्त छन् ।

सरकार तथा संघसंस्थाले ओत लाग्ने त्रिपाल त दियो । तर त्रिपालले बर्खा नकाट्ने देखेपछि उनीहरु भत्केका घरबाट निकालेका जस्तापाता ठोकठाक पार्दै ओत लाग्ने घर बनाउँन थालेका हुन् । कतिपयले यस्तै घर बनाइसकेका छन् । ‘कसैले देला र ओत लागौला भनेर कहिले हो कहिले ? सधै भत्केको घर हेरेर बसेर के गर्नु ? मर्ने त मरिगए बाँच्नेहरु त बस्नु प¥योनी, रविनले भन्नुभयो । छिमेकीहरुसंग मिलेर काम गर्दा दुई दिनमा बस्न मिल्ने घर बनाउन सकिने उहाँले सुनाउनुभयो । महिलाहरु खेतीपातीको काममा र पुरषहरु पालैपालो अस्थाई घर बनाउने काममा लागेका छन् । सल्यानटारको सिखटार र आरुघाटमा रहेका बाक्लो वस्तीका घर सबै गल्र्यामगुर्लुम भएका छन् । कसैले नयाँ टहरा बनाइसके कोही पुरानै घरको छेउमा नयाँ घर बनाउने तयारी गर्दै छन् । उनीहरु भन्छन्, ‘जे हुनु भै’गयो गाउँमा भएका दुई चार जना साथीहरु मिलेर अहिलेको लागि बास बस्ने ठाउँ बनाउँदै छौं ।’

यतिबेला कोही घर ढलेर पुरिएका अन्नपात टिपटाप गरिरहेका छन् । कोही भत्केरा घरहरुबाट काठ ढुङ्गा जस्ता पुराना निर्माण सामाग्रीको सदुपयोग गर्दै नवनिर्माणमा लागेका छन् ।सल्यानटारका भुकम्प पीडित अहिले त्यत्ति निशास देखिदैनन् । भत्किएकै घरको छेउमा टहरा बनाएर बस्न थाल्नुभएकी सल्यानटार उजेली वि.क. मुस्कुराउदै भन्नुहुन्छ, पुरानो काठ र जस्ताले घर बनाएका छौ । छोराको उउटा आँखा कमजोर छ । उसले घरमा गर्ला भन्ने पनि छैन यस्तै छ घरको समस्या । चार हजार लगाएर यो घर बनाए ।’ वि.क.ले छिमेकीहरुको सहयोगमा पुरानै घरको काठ र जस्ता प्रयोग गरेर एक पाखे टहरो बनाएर बस्न थाल्नुभएको छ ।कतिपयले त चर्पी र छुट्टै भान्सा पनि बनाएका छन् । यस्ता घर बनाउन छिमेकीहरुले एकअर्काेलाई सघाइरहेका छन् । उनीहरु केही न केही काममा व्यवस्त हुन थालेका छन् ।

सल्यानटारमा अहिले घैया धान गोठ्ने बेला पनि भएको छ । घर बनाइसकेकाहरु खेतीको स्याहारमा लागेका छन् । ‘घर भतकेको छ । बारीको पाटामा पाल टागेर बसियाछ । घर जस्तो भएपनि मान्छे बााचिएको छ । एक वर्षसम्म खाने खेती गर्नै प¥यो’ घैया धान गोड्दै गर्नुभएकी चिनिमायाँ श्रेष्ठले भन्नुभयो । ‘दोहोरो मकै गोड्नपाइएन । जेठ महिनाभरी टारको घैया धान गोठ्नै लाग्छ । खेतमा मोल पाइएन । खेती पहेलिएर गयो, चिनिमायाँसंगै चित्रकुमारी श्रेष्ठले थप्नुभयो ।  भत्किएका घरको ढुङगा माटो पन्छाउन नसक्ने महिलाहरु आफ्नो पीडा भुल्दै खेतीपाती गोडमेलमा लागि परेका छन् । विनासकारी भुकम्पको पराकम्पनहरु कम हुँदै जाँदा जनजिवन सामान्य बन्दै गएको छ । भूकम्पकै कारण परिवार र आफन्त गुमाएकाहरु पनि सम्हालिन थालेका छन् । कोही अस्थाई बसोबासको व्यवस्थापनमा लागेका छन् त कोही वर्षभरी खाने खेतीको स्याहार सम्हारमा जुट्न थालेका छन् ।

Source: Pabilnews
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस