पहिरोको जोखिममा धादिङको उत्तरी भेक

धादिङ, वैशाख १२ यताका भूकम्पले उत्तरी भेक जाने मूल सडक र ग्रामीण बाटा आधा दर्जन पहिरोले अवरुद्ध भएपछि राहत ढुवानी ठप्पप्राय: भएको छ। अति प्रभावित दुर्गम गाउँहरूमा राहत पुर्‍याउन पहिले पहिरो पन्छाउनुपर्छ। त्यसका निम्ति आवश्यक औजार पनि लैजान सकिएको छैन। 


यतिखेर सदरमुकामस्थित हेलिप्याडमा पहिरो पन्छाउने औजार र राहत सामग्री थन्किएका छन्। तत्काल ढुवानीको एउटै विकल्प हेलिकप्टर नपाइँदा सडकले नछोएका ५ गाविस अहिले कुनै पनि खाले राहत–सहयोगबाट वञ्चित छन्। 


‘घाइतेको उपचारनिम्ति स्वास्थ्य शिविर चलाएका विदेशी चिकित्सक र स्वास्थ्यकर्मीहरू गाउँमै अडेकाका छन्। उनीहरू भोकै पर्ने स्थिति छ। उनीहरूलाई त्यहाँबाट उम्काउन हेलिकप्टरले थुप्रै खेप गर्नुपर्छ, तर पाइएको छैन,’ उपचार र राहतमा संलग्न हिमालयन हेल्थ केयरका जिल्ला जनसम्पर्क अधिकृत शम्भुसिंह ठकुरीले भने। 

उत्तरी भेकमा लैजान राहत सामग्री र खाद्यान्न बुझेका गाविस सचिवहरू बाटो रोकिएकै कारण सदरमुकाममा सामान थुपारी बसेका छन्। गाउँबाट विस्थापित भई सदरमुकाम आउनेलाई ती सामग्री वितरण भइरहेको छ। ‘ठूलठूला पहिरोले वल्लो गाउँबाट पल्लो गाउँ जान सक्ने अवस्था छैन, राहत सामग्री कसरी लैजानु? भरिया पनि पाउन कठिन भो,’ तिप्लिङ गाविसका कार्यालय सहायक बुद्धि थापा तामाङले बताए। 

१२ र २९ गतेका भूकम्पले गाउँहरूबीच सम्पर्कविच्छेद गरेको हो। तिप्लिङ–८ र ९ मा पहिरोले हेल्थपोस्ट जाने बाटोसमेत अवरुद्ध छ। पहिरोकै जोखिमले १ देखि ४ नम्बर वडासम्मका गाउँबाट मानिसहरू अन्यत्र विस्थापित भएका छन्। 

‘सेर्तुङदेखि अवाईसम्म जोड्ने बाटो अवरुद्ध छ। ९ नम्बर वडा तातोपानीमा पहिरो गएको छ। त्यसभन्दा उताको हेन्दुङको अवस्था हालसम्म अज्ञात छ,’ हिमालयन हेल्थ केयरका फिल्ड संयोजक सप्तकुमार घले बताउँछन्।

लापाको आँखुखोला पुल भत्किएर वारिपारि गर्नसमेत कठिन भएको छ। बोराङ गाउँमुनि पहिरो गएपछि ३ गाविसमा आवतजावत र ढुवानी अवरुद्ध छ। 

६ सय घरधुरी रहेको तिप्लिङमा राहत रकम वितरण भए पनि खाद्यान्न ढुवानी हुन सकेको छैन। गतसाता भारतीय वायुसेनाको हेलिकप्टरले आकाशबाटै चामल र आलु खसायो, जुन आलुबारीमा छरिबरी भएर काम नलाग्ने भयो। अरू खेपमा जमिननजिकै ल्याएर खसाल्यो। त्यसबाट ३२ बोरा चामल वितरण गर्न सकेको कार्यालय सहायक थापा बताउँछन्। 

बाटो बन्द र हेलिकप्टर नपाइँदाको स्थितिमा विभिन्न गैरसरकारी संस्थाले ल्याएका राहत सामग्री पनि सदरमुकाममै थन्किएका छन्। 

सिंगै गाउँ विस्थापित

धादिङ (कास)– मंगलबार अपराह्नको भूकम्पले रघुकुना लेकबाट झरेको पहिरोका कारण पुरै गाउँ उठेको छ। लापा १ र ६ नम्बर वडामा पर्ने कपुरगाउँका ६५ घरधुरी विस्थापित भएका हुन्। गाउँका २ सय ९५ जना डाँडामा उक्लेर उद्धार कुरिरहेका छन्। जसमध्ये ३ जना गर्भवती र ५० प्रतिशत बालबालिका रहेको स्थानीय गैसस नमस्ते नेपाल विकास केन्द्रका कार्यकारी निर्देशक दिनेशकुमार तामाङले टेलिफोनमार्फत जानकारी दिए। तामाङ मंगलबार बिहान डाइनेस्टी एयरको हेलिकप्टरलाई ९० हजार भाडा दिएर नुन र खाद्यान्नसहित परिवार भेट्न कपुरगाउँ पुगेका थिए। 

१२ गतेको भूकम्पले गाउँका ९० प्रतिशत घरमा क्षति पुगेको थियो भने ४ जनाको ज्यान गएको थियो। हाल उक्त गाउँ पहिरोको घेराबन्दीमा परेको छ। स्थानीय बासिन्दा पहिरोमा फसेको जानकारी पाएर अपराह्न प्रमुख सेनानी विजितराज रेग्मी र जिल्ला प्रहरी प्रमुख प्रकाश मल्लले उक्त स्थानको निरीक्षण गरेका थिए। 

प्रहरी नायब उपरीक्षक प्रकाश मल्ल ठूलो पहिरोले तत्काल नोक्सान नगर्ने भएकाले पुरै गाउँ विस्थापित गराउनुभन्दा हवाई मार्गबाट खाद्यान्न लिएर सहयोग गर्नु उपयुक्त देखिएको बताउँछन्। 

तिब्बतसँग जोडिएको जिल्लाको अन्तिम गाउँ तिप्लिङ गणेश हिमालको काखैमा छ।
Source: Ekantipur
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस