धादिङ्गको भौगोलिक अवश्था


विश्व मानचित्रमा २७ डिग्री ४० मिनेटदेखि २८ डिग्री १७ मिनेट  उत्तरी अक्षांश र ८४ डिग्री ३५ मिनेटदेखि ८० डिग्री १७ मिनेट पूर्वी  देशान्तरसम्म फैलिएको धादिङ जिल्ला समुन्द्री सतहबाट ३०० मिटर
(जोगीमारा) देखि ७११० मिटर (पाविल हिमाल) सम्मको उचाईमा अवस्थित छ । पूर्वमा नुवाकोट, रसुवा र काठमान्डौ, पश्चिममा गोरखा, उत्तरमा रसुवा तथा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा चितवन र मकवानपुर जिल्लाहरू रहेको यस जिल्ला उत्तरमा हिमालय पर्वत श्रृङखलादेखि दक्षिणमा महाभारत पहाड श्रृङखला सम्म फैलिएको छ । उत्तरबाट दक्षिणतर्फ फुक्दै गएको यस जिल्लामा लेक, बेसी, नदीनाला, टार र ठूला ठूला फाँटहरू रहेका छन् । यो जिल्लाको क्षेत्रफल १,९२४.९ बर्ग कि.मि.रहेको छ । 


नदीनाला
जिल्लाको करिव मध्यभागबाट बग्ने नेत्रावती (आँखु) नदी देखि पश्चिममा गोरखाको सीमा हुँदै बग्ने वुढिगण्डकी प्रसिद्घ त्रिशुली नदी यसै जिल्लामा रहेका छन् । यी बाहेक धादिङ जिल्ला सदरमुकाम हुँदै बग्ने मिन्दुकेशर (थोपल) खोला,भालेटाइ, दुरूगुनी, अखिल, डुङखुल, माटा, गन्धावनी, घटिया, लिस्ने, हाङगाङ, गरूली, औल, किन्ताङ, बगुवा, आफल, ताँदी, कोल्पु, डुन्डुरे, मनु, लपाङ, कास्टे, पिन, अवदि, धाले, पलेखु, ह्यापिङ, खानी, टुनो, आँसी, महत, छोरीनदी, हाँडी, ग्याल्मा, धौ, सामरी, च्याँडु गल्डु, सुकौरा, वेल्खु, महेश, आग्रा, चिरौदी, थाप्ले, मलेखु, दरीयांल, कोशी, जुङ्गे आदि १७४० जति खोला, खोल्साहरू रहेकोमा त्रिशुली , बूढी गण्डकी  र नेत्रावती जिल्लाका मुख्य नदीहरू हुन् ।

हावापानी
हिमाली भेगमा बढी चिसो हुने तथा महाभारतबेसी र मध्य भागमा बढी गर्मी हुने हुँदा यो जिल्लामा हावापानीका हिसावले विविधता पाइन्छ ।
क)     उष्ण हावापानी
समुन्द्री सतहबाट ४८८ मि.देखि १००० मि.उचाइसम्म यस खालको हावापानी पाइन्छ । गा.वि.स. गत रूपमा सल्यानटार, त्रिपुरेश्वर र पृथ्वी  राजमार्ग वरपरको इलाकामा यो हावापानी पाइन्छ । यो हावापानी पाइने स्थानको औसत तापक्रम २० डिग्री से.रहेको पाइन्छ ।
ख)     समशीतोष्ण हावापानी
समुन्द्री सतहबाट १००० मिटर . देखि २००० मिटर .सम्मको उचाइमा यो हावापानी पाइन्छ । नलाङ, सलाङ, मैदी, खरी चैनपुर, ढोला, जीवनपुर, केवलपुर, ज्यामरूङ आदि यो हावापानी पाइने गा.वि.स.हरू हुन् । यस किसिमको हावापानी पाइने स्थानको औषत तापक्रम १५ डिग्री सेल्सियस देखि २० डिग्री सेल्सियस सम्म रहेको पाइन्छ ।
ग)     शीतोष्ण हावापानी
समुन्द्री सतहबाट २००० मिटर .देखि ३००० मिटर .सम्मको उचाइमा यो हावापानी पाइन्छ । दार्खा, सत्यदेवी, री, फुलखर्क, गुम्दी, बसेरी, मार्पाक, सेमजोङ, कटुञ्जे, झार्लाङ लगायतका गा.वि.स.हरूमा यो हावापानी पाइन्छ । यो हावापानी पाइने क्षेत्रको औसत तापक्रम १० डिग्री सेल्सियस देखि १५ डिग्री सेल्सियस सम्म रहेको पाइन्छ ।

घ)     अल्पाइन हावापानी
समुन्द्री सतहबाट ३००० मिटर .देखि ४००० मिटर .सम्मको उचाइमा यो हावापानी पाइन्छ । जिल्लाको उत्तरी क्षेत्र हिमालय पर्वत श्रृङ्खलाको काखमा रहेका लापा, तिप्लिङ र सेर्तुङ गा.वि.स.हरूमा  यो हावापानी पाइन्छ । यो हावापानी पाइने क्षेत्रको औसत तापक्रम १०डिग्री सेल्सियस भन्दा कम हुने गर्दछ ।

ङ)    आर्कटिक(चिसो) हावापानी
समुन्द्री सतहबाट ४००० मि.देखि माथिको उचाइमा यो हावापानी पाइन्छ । यस हावापानीको क्षेत्रमा वर्षैभरी हिउँ जमिरहने हुनाले (गणेश हिमालफेदी) यहाँको औसत तापक्रम सुन्य डिग्री सेल्सियस भन्दा कम हुने गर्दछ ।
कुण्ड एवं झरना
यस जिल्लामा प्रसिद्ध कुण्डहरू रहेका छन् । ६००० मिटरको उचाइमा रहेको कालो कुण्ड ,सेतो कुण्ड, गणेश कुण्ड, भैरव कुण्ड, तातोपानी कुण्ड तथा नेपालभरि प्रसिद्ध रहेको गंगा जमुना झरना
(फूलखर्क गा.वि.स.) यसै जिल्लामा पर्दछन् ।
प्राकृतिक स्रोत एवं विशेषता
प्राकृतिक सम्पदाको हिसावले यो जिल्ला निकै धनी रहेको छ ।असंख्य खोला खहरे , कुण्ड, झरना तथा वाह्रै महिना हिउँ जम्ने उच्च हिमाली क्षेत्रमा विभिन्न खालका रंगीन ढुड.गाहरू (जुन वहुमूल्य रत्न जडित भएको ठानिन्छ) यसै जिल्लामा पाइन्छ । वन जंगल यस जिल्लाको प्रमुख प्राकृतिक स्रोत हो । गणेश हिमाल वरपर जस्ता र तामाको खानी रहेको प्रमाणित भइसकेको छ । यी वाहेक सुनौला बजारको गुप्तेश्वर, खाल्टेको चमेरे गुफा पनि जिल्लाभर प्रख्यात छ  । उच्च हिमाली भेगमापर्ने पाविल हिमाल (जुन जिल्लाको उच्च हिमाल पनि हो) देखि लिएर धेरै साना ठूला हिमाल , टाकुरा ,डाँडाहरू रहेको यो जिल्ला उत्तिकै मनमोहक पनि छ । यस जिल्लाको उत्तरी भेगका जंगलमा गुरांस, धुपी, सल्ला देखि वहुमुल्य जडिवुटी चिराइतो, पाँचऔंले, यार्सा गुम्वा समेत् पाइन्छ । पहाडी जंगलमा सामान्य जातका (जताततै पाइने) रूखहरू पाइन्छ ।

टार एवं बेंसीहरू 
यस जिल्लामा धेरै टार र वेसीहरू रहेका छन् । सल्यानटार, पीपलटार, जोगीटार, मझिमटार, परेवाटार, आदमटार, कल्लेरीटार, कुमालटार, गजुरीटार, मासटार, फिसफिसेटार, रिचोकटार, विशालटार आदि प्रसिद्ध टारहरू हुन् । वेंशीहरूमा धादिङवेंसी, ठूलोवेंसी, सल्यानवेंसी, टारीवेंसी प्रसिद्ध वेंसीहरू हुन् ।
ऐतिहासिक अवस्था

नेपालको प्रशासनिक विभाजन २०१८ अनुसार मध्य पहाडी क्षेत्रको ३९ ओटा पहाडी जिल्लाहरू मध्ये मध्यमाञ्चल विकास क्षेत्रको वागमती अञ्चलमा पर्ने आठओटा जिल्लाहरू मध्ये धादिङ  पनि एक हो । राज्यको राजधानी काठमान्डौसँग सिमाना जोडिएको यो जिल्लाको सदरमुकाम धादिङवेंसी काठमान्डौबाट ८८ विm.मि. मात्र टाढा पर्दछ । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु (फुर्केखोला)बाट यस जिल्लाको सदरमुकाम धादिङवेंसी १८ कि.मि.को दुरीमा रहेको छ । २००७ सालभन्दा अगाडि अदालत,माल र जँगी परेड गरी ३ ओटा अड्डाहरूमात्र रहेका थिए । अहिलको धादिङ इलाका गोरखा राज्यका सँस्थापक राजा द्रब्य शाहका छोरा पूर्ण शाहका पालामा गोरखा राज्यमा गाभिएको थियो । यस भन्दा अगाडि यस जिल्लामा मगर,तामाङ र चेपाङ जातिहरूले आ—आफ्नो गाउँहरूमा आ–आफ्नै रीतिरिवाज र परम्परामा आधारित रहेर सामाजिक ब्यवहार चलाएर वसेका थिए ।
वि.सं.२०२२ साल भन्दा अगाडि यो पश्चिम १ नंम्बर गोश्वाराको छोटी जिल्लामात्र थियो । २०२२ सालमा पूर्ण जिल्लाको रूपमा परिणत भएपछि  यसको सदरमुकाम सुनौला बजार थियो । २०३२ फागुन २० गते सदरमुकाम धादिङवेंसी सारिएको थियो ।
जिल्लाको नाम धादिङ रहनुमा पहिले धादिङ गढीको निर्माण गरी सैनिक शिविर खडा गरेको हुनाले धादिङ रहन गएको ऐतिहासिक तथ्य फेला पर्दछ । जाति तथा भाषामा आधारित किँवदन्ती अनुसार यस क्षेत्रमा परापुर्वकालदेखि नै आदिवासी चेपाङ जातिको वसोवास चल्दै आएको र उनीहरूको भाषामा “धा” भनेको देवता र “दिङ” भनेको “आगोको ज्वाला” आगोको ज्वाला देवता भन्ने अर्थमा र ज्वालामुखी देवीको मन्दिर पनि यस जिल्लामा रहेको कारणबाट यस जिल्लाको नाम “धादिङ” रहन गएको पाइन्छ ।
तामाङ, ब्राम्हण, क्षेत्रीको बाहुल्यता रहेको भएपनि नेवार, गुरूङ्ग, दमाई, कामी, सार्की, कुमाल, दराई प्रजा जातिको पनि बसोबास रहेको यस जिल्लामा धेरेजसो मानिसहरू कृषि पेशामा आश्रित छन् ।
पर्यटकीय एवं ऐतिहासिक विशेषता

भौगोलिक रूपले विविधता रहेको यो जिल्ला पर्यटकीय दृष्टिले हालसम्म केन्द्रिय स्तरमा त्यति महत्वपूर्ण स्थानमा नपरेपनि पर्यटन विकासका सम्भावना भने प्रचुर मात्रामा रहेको पाइन्छ । यस जिल्लाका प्राकृतिक सम्पदाहरूमा गणेश हिमाल, (पाविल हिमाल) त्रिशुली नदी, वुढीगण्डकी नदी, कल्लेरीको गुप्तेश्वर गुफा, झार्लाङ वेंसीको तातोपानी, गणेश कुण्ड, सिद्धलेक (नलाङ), पाँचधारा (सल्यानटार) आदि मनोरम सम्पदाहरू हुन् । यसैगरी ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिने धादिङगढी, ज्यामरूङ दरबार, त्रिपुरासुन्दरीमाई, सिद्धलेक, नोक गुफा , चमेरे गुफा, मोती गुफा, खड्गदेवी, ढोला मण्डली, वृचेतको जोङ दरबार, घलेराजाको दरबार, गंगा जमुना (तीर्थस्थल), भैरवी मन्दिर, विन्दुकेशर महादेव, पशुपती महादेव, सिङ्गलादेवी, दोङदेनदेवी मन्दिर, गिलिङजो दरबार, छोइलिङ गुम्वा  जस्ता अनेक ऐतिहासिक महत्व राख्ने दरबार, देवालय आदिको सँरक्षण र प्रचार प्रसार गरी थप पर्यटकीय विकास गर्न सकिने स्थलहरू छन् ।

सामाजिक अवस्था
यस जिल्लाको उत्तरतर्फ रहेका ६ ओटा गा.वि.स. भित्र विशेष गरि तामाङ र अल्पसंख्यक रूपमा गुरूङ घले र  दलितहरू छन् । त्यसै उत्तरका अन्य १४ र मध्य तथा दक्षिणका धेरै गा.वि.स. हरूमा बाहुन, क्षेत्री, मगर, नेवार, गुरूङ, मुस्लिम, राई, दराई, घर्ती, भुजेल, दमाई, कामी, सुनार, शेर्पा आदि जातजतिहरूको मिश्रित वसोवास रहेको पाइन्छ भने कुमाल, चेपाङ, माझी जातिहरू कुनै खास स्थानहरूमा मात्र बसोबास गर्छन् ।

२०५८ को जनगणना अनुसार तामाङ जाति कुल जनसंख्याको २१.५ प्रतिशत, बाहुन १६.९ प्रतिशत, क्षेत्री १५.४ प्रतिशत, नेवार ९.६ प्रतिशत र मगर ८.५ प्रतिशत रहेको छ ।  माथिको तथ्याकं अनुसार यस जिल्लामा तामाङ जातिको बाहुल्यता रहेको छ । माथि उल्लेखित जातजातिहरू मध्ये धेरैले बोल्ने मातृभाषा नेपाली हो भने अन्य भाषहरूमा तामाङ, मगर, नेवार, गुरूङ, चेपाङ, कुमाल, राई भाषाहरू पनि बोलिन्छ ।

माथि उल्लेखित जातजाति मध्ये बहुसंख्यक मानिसहरूको मुख्य धर्म हिन्दु धर्म हो । यस बाहेक बौद्ध, इसाई, मुस्लिम धर्म मान्ने मानिसहरू छन । विभिन्न जातजातिका रीतीरिवाज, रहनसहन, भेषभुषा फरक फरक रहेका पाईन्छन् । यस जिल्लामा मनाईने मुख्य चाँडपर्व दशै, तिहार, तीज, माघे संकात्ति आदि हुन भने शेर्पा, गुरूङ, तामाङहरूले ल्होसार र मुस्लिमले इँद (रम्जान) र क्रिचियनले क्रिस्मस मनाउँछन । समुदायमा रहेका जातजातिको आफ्नो धर्म, परम्परा अनुसार विभिन्न स्थानमा मठमन्दिर, स्तुप, गुम्वा, मस्जिद आदि निर्माण गरेका पाईन्छ ।
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस